पोखरा ।
गुणस्तरीय तथा पहुँच योग्य स्वास्थ्य सेवा विस्तारका लागि पोखरा महानगरपालिका वडा नम्बर १७ र गण्डकी मेडिकल कलेज (जिएमसी) बिच सम्झौता गरिएको छ ।
वडामा आउने सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरी पोखरा १७ का वडाध्यक्ष राधिका शाही र जिएमसीकी मेडिकल सुपरिटेन्डेन्ट डा. टु माया घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार पोखरा–१७ मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जिएमसीले कम्तिमा एक चिकित्सक नियमित रुपमा खटाई सेवाग्राहीको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गर्नुपर्नेछ ।
उक्त चिकित्सकबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने सम्झौता पत्रका उख्लेख गरिएको छ । जिएमसीका मेसु घलेले अस्पतालले हरेक दिन फरकफरक विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गर्ने बताइन् ।
वडाबाट माग भएअनुसारको सेवा दिन अस्पताल तयार गरेको घलेले उल्लेख गरिन् ।
उक्त सम्झौता आथिर्क वर्ष २०८४/८५ सम्म मान्य हुनेछ । आपसी समझदारी तथा सहकार्य आधारमा वडा नम्बर १७ भित्र महानगरपालिकासँग समझदारीमा आवश्यकतानुसार स्वास्थ्य शिविरहरु आयोजना गरिनेछ ।
वडाध्यक्ष योगीले यो सम्झौताले स्वास्थ्य सेवालाई विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले धेरै रोगहरुलाई न्यूनिकरण गर्न पहिलो चरणको सेवा दिने हेतुले उक्त सम्झौता गरिएको बताइन् ।
प्रकाशित मिति २०८२ पुस २४ गते बिहीबार ०८:०८




