२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान

म्याग्दीमा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ पुस २८ गते सोमबार ०७:११

छोरीको हातमा नागरिकता परेपछि आमा निलसराले आफ्नो महत्वपूर्ण जिम्मेबारी पूरा भएको बताइन् ।

म्याग्दी ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ ।

बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बञ्चित भएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।

नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम पुनलाई ५६ वर्षीया आमा निलसरा पुनको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले जिकिर गरे ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन गरिएको छ । नागरिकता प्राप्त गरेपछि पुनले आफ्ना रोकिएका कार्यहरू अगाडी बढ्ने बताइन् ।

छोरीको हातमा नागरिकता परेपछि आमा निलसराले आफ्नो महत्वपूर्ण जिम्मेबारी पूरा भएको बताइन् । प्रमुख जिल्ला अधिकारी आचार्यले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकका हकअधिकार सुनिश्चित भएको बताउँदै प्रशासनबाट प्राप्त हुने सेवा नागरिकमैत्री, ढिलासुस्तीरहित हुने प्रतिबद्धता जनाए ।

जन्मदिने बुबाको परिचय नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिन आवश्यक प्रक्रियाका बारेमा स्थानीय तह, वडास्तरमा समेत परिपत्र गरिएको छ ।

बाबुको पहिचान नखुलेकाको अवस्थामा म्याग्दीमा विगतका बर्षमा प्रष्ट कानुनी आधार नहुदाँँ नागरिकताबाट बन्चित भएकालाई सहज भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा हालसम्म तीनजना किशोरीले आमाको नामबाट नागरिकता लिन आवश्यक कागजातहरु प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति २०८२ पुस २८ गते सोमबार ०७:११
हजुरको प्रतिक्रिया