२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा ११औं माघेसङ्क्रान्ति मेला सुरु

म्याग्दीमा ११औं माघेसङ्क्रान्ति मेला सुरु

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ माघ १ गते बुधबार ०८:०४

कृषि र पर्यटनका क्षेत्रमा सम्भावना भएकाले विभिन्न परियोजनाका लागि अब ढिलाइ गर्न नहुने बताए । उनले कोरला नाकाबाट अन्तरदेशिय ब्यापार गर्न सकिने बताए ।

म्याग्दी ।

‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने नारासहित बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा सदरमुकाम बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो ।

११ औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दीको बेनीबजारमा विभिन्न जातीय तथा सामाजिक संघसंस्थाहरुको सहभागितामा बजार ¥याली गरिएको थियो । मेलाको उद्घाटन गदैं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी लगानीबाट पनि धेरै योजनाहरु सम्पन्न गर्न सकिने भएकाले म्याग्दीमा लगानीयुक्त क्षेत्रको पहिचान गरेमा ५० प्रतिशत लगानीको स्रोत सुनिश्चितता गर्न तयार रहेको बताए ।

स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी स्थापित कम्पनीमार्फत म्याग्दीको पर्यटन क्षेत्रमा लगानी गर्ने इच्छा रहेको ढकालको भनाई थियो । अध्यक्ष ढकालले विभिन्न आन्दोलनका नाममा व्यवसायी माथि प्रहार हुने भएकाले आगामी दिनमा उद्योग व्यवसायलाई बन्द हड्ताल, आगजनी, लुटपाट र तोडफोड निषेधित क्षेत्र घोषणा गर्नका लागि उद्योग वाणिज्य महासङ्घले आवश्यक पहल गरिरहेको बताए ।

म्याग्दीमा जलविद्युत, कृषि र पर्यटनका क्षेत्रमा सम्भावना भएकाले विभिन्न परियोजनाका लागि अब ढिलाइ गर्न नहुने बताए । उनले कोरला नाकाबाट अन्तरदेशिय ब्यापार गर्न सकिने बताए ।

आउँदो माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा ग्रामीण क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गरिनुका साथै उद्यमी प्रतियोगिता, कला प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुतीलगायत विविध कार्यक्रमहरु रहेको माघेसङ्क्रान्ति मेलाका मूल संयोजक अम्बिका श्रेष्ठले बताइन् ।

खाना महोत्सवको रुपमा आयोजना हुन लागेको मेलामा सर्वसाधारणको सहजताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी संगै स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका बस्तु तथा सामाग्रीको खरिद विक्रि समेत हुन्छ । मेलाको अवसरमा खुल्ला लोनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता, खुल्ला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालय स्तरीय खुल्ला पेन्टीङ प्रतियोगिता र छेलो लगायत प्रतियोगिताको आयोजना गरिएको छ ।

मेलाको अवसरमा संविधासभा सदस्य गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका कार्यबाहक सभापति हरिकुमार श्रेष्ठ, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति २०८२ माघ १ गते बुधबार ०८:०४
हजुरको प्रतिक्रिया