पाेखरा ।
नेपाल भूकम्पको उच्च जोखिममा रहेको देश हो ।
पछिल्ला वर्षहरूमा स९साना भूकम्पदेखि ठूला विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्याएका उदाहरणहरू प्रशस्त छन् ।
भूकम्प पूर्व सूचना नआउने प्राकृतिक विपद् भएकाले सतर्कता र तयारी नै सबैभन्दा ठूलो उपाय मानिन्छ । यही सन्देश दिन पोखरामा शुक्रबार भूकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास गरिएको छ ।
२८ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर गरिएको भूकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यास हो ।
जिल्ला विपद् व्यवस्थापन समिति, पोखरा महानगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेड क्वाटर कालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा भूकम्प आउदाको अवस्थामा उद्धारको अभ्यास गरिएको थियो ।
२०७२ सालको विनाशकारी भूकम्पपछि विपद् व्यवस्थापन र उद्दार क्षमतामा सुधार भए पनि जनस्तरमा अझै पर्याप्त तयारी हुन नसकेको सरोकारवालाको भनाइ छ ।
यस्ता अभ्यासले मानिसहरूलाई भूकम्पको बेला के गर्ने र के नगर्ने भन्ने व्यवहारिक ज्ञान दिने उद्देश्य राखेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भूकम्प जस्ता विपद् आउँदा मानिसले आफू बाँच्न र अरूलाई कसरी बचाउन सकिन्छ भने पूर्व जानकारी दिन अभ्यासका कार्यक्रम आवश्यक रहेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले जानकारी दिए ।भूकम्प जस्ता प्राकृतिक
विपद् कहिले आउँछ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले सतर्कता, अभ्यास र तयारी नै सबैभन्दा ठूलो सुरक्षा उपाय हो । विद्यालय, सार्वजनिक स्थल र भीडभाड हुने स्थानमा यस्ता कृतिम घटना अभ्यास नियमित रूपमा गरिनुपर्ने सरोकारवालाको सुझाव छ ।
विपद् पूर्वतयारीमा समुदायको भूमिका महत्वपूर्ण हुने कार्यक्रमको औपचारीक कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई थियो। विपद भइसकेपछि हारगुहार गर्नुभन्दा आम नागरिक स्वयं सचेत र पूर्व तयारी अवस्थामा रहनुपर्नेमा उनिहरुको जोड थियो ।
प्रकाशित मिति २०८२ माघ ३ गते शुक्रबार ०७:०७




