म्याग्दी ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
जिल्ला अदालत म्याग्दीका न्यायाधीश समेत रहनुभएका मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने बताए ।
प्रमुख जिल्ला अधिकारी आचार्यले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जिल्लाभित्र रहेका मतदाता, मतदानस्थल तथा हालसम्म गरिएको कामका बारेमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण गौतमले निर्वाचनलाई सफल पार्ने दायित्व पत्रकारको पनि दायित्व भएकाले स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
मुख्य निर्वाचन कार्यालयबाट निर्वाचनसम्बन्धि सम्पूर्ण गतिविधिका साथै उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापनका साथै सबै मतदानस्थलसम्मको विवरण उपलब्ध हुनेछ ।
आगामी फागुन २१ गते गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि म्याग्दीमा कुल ८६ हजार तीनसय ९७ मतदाता कायम भएका छन् । प्रतिनिधि सभातर्फ १ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर बर्गिकरण गरेको छ ।
प्रकाशित मिति २०८२ माघ ३ गते शुक्रबार ०७:१७




