२०८३ साउन २१ गते बिहीबार

पर्वतबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाले गरे विकासको भिजन सार्वजनिक

पर्वतबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाले गरे विकासको भिजन सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १० गते शुक्रबार ०७:४७

तिमिल्सिनाले पर्वतमै आईसीटी हब स्थापना गर्ने दीर्घकालीन योजना रहेको उल्लेख गर्दै त्यसबाट युवालाई डिजिटल सीप र रोजगारी प्रदान गरिने बताए।

पोखरा

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पर्वतबाट उम्मेदवारी दिएका मनहरी तिमिल्सिनाले पर्वतको विकासका लागि आफ्नो योजना सार्वजनिक गरेका छन्। शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जिल्लाको समग्र विकास, रोजगारी र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको बताए।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका तिमिल्सिनाले पर्वतको भूगोलअनुसार योजना आवश्यक रहेको उल्लेख गरे। उनले विकासका लागि योजना बैंक निर्माण गर्ने, बजेट विनियोजनमा प्रभावकारी भूमिका खेल्ने र प्रविधिको प्रयोगमार्फत सेवा सरल बनाउने योजना प्रस्तुत गरे।

उनका अनुसार वडास्तरमा सार्वजनिक सुनुवाइ गरेर योजना छनोट गरिनेछ। पालिकाले कार्यान्वयन गर्न नसक्ने योजनालाई जिल्ला समन्वय समितिमार्फत योजना बैंकमा राखिनेछ। साथै विज्ञहरूको सूची तयार गरी विकास सम्मेलनमार्फत योजनाको कार्यान्वयन गरिने उनले जानकारी दिए।

शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि डिजिटल प्रविधिमा आधारित कार्यक्रम अघि बढाइने उनले बताए। स्वास्थ्य सेवामा पहुँच बढाउन मोबाइल डाक्टर सेवा सञ्चालन गर्ने र कृषि क्षेत्रमा देखिएको बाँदरको समस्याका दीर्घकालीन समाधानका लागि विज्ञहरूसँग मिलेर योजना बनाइसकेको उनको भनाइ छ।

तिमिल्सिनाले पर्वतमै आईसीटी हब स्थापना गर्ने दीर्घकालीन योजना रहेको उल्लेख गर्दै त्यसबाट युवालाई डिजिटल सीप र रोजगारी प्रदान गरिने बताए।

आफू जनतासँग नजिक रहेको दाबी गर्दै तिमिल्सिनाले आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।

प्रकाशित मिति २०८२ माघ १० गते शुक्रबार ०७:४७
हजुरको प्रतिक्रिया