पोखरा ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) आयोजनामा पोखरामा शनिबारदेखि हुने साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलका लागि सबै टिम तयार रहेको बताएका छन् ।
पोखरा लेकसाइडमा आयोजन प्रिम्याच कन्फ्रेन्समा ४ वटै टिमका प्रशिक्षक तथा कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी भएका छन् । नेपाली यू–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले तयारी राम्रो भएकाले नतिजा राम्रो आउने विश्वास व्यक्त गरे ।
कप्तान शुशिला केसीले घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्ने बताइन् । बंगलादेशका प्रशिक्षक बेटर बटलर र कप्तान अर्पिता विश्वास अर्पिताले उक्त प्रतियोगिता नयाँ खेलाडीका लागि ठूलो अवसर भएको बताए ।
भुटानकी प्रशिक्षक टंका माया घल्लीले टोलीको तयारीबाट आफु सन्तुष्ट रहेको सुनाइन् । कप्तान सोनम चोदेनले टिमको तयारी एकदमै राम्रो र खेल्नका लागि उत्साही रहेको बताइन् ।
भारतकी प्रशिक्षक पामेला कोन्टीले टोलीमा अधिकांश खेलाडी १७ वर्षभन्दा मूनिको रहेको बताइन् । कप्तान जुलान नोङमैथेमले तयारी राम्रो भएको र टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।
च्याम्पियनसिपअन्तर्गत पहिलो खेल शनिबार मध्यान्ह १२ बजेबाट भुटान र बंगलादेशबिचको खेल सुरु हुनेछ । त्यसपछि दिउँसो ३ बजे नेपाल र भारतबिच हुने तालिका छ ।
खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैया तोकिएको छ ।
प्रकाशित मिति २०८२ माघ १७ गते शुक्रबार ०८:१३




