२०८३ साउन २१ गते बिहीबार

ज्येष्ठ नागरिकको जीवनयापनका पारिवारिक कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने कानून ल्याउँदै सरकार

ज्येष्ठ नागरिकको जीवनयापनका पारिवारिक कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने कानून ल्याउँदै सरकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २६ गते आइतबार ०३:१७

ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्न अन्तरपुस्ता ज्ञान, सिप तथा अनुभव हस्तान्तरणलाई उत्पादन र उत्पादनसँग जोडिएको सामाजिक विकाससँग जोड्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

पोखरा ।

ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापन सुनिश्चित गर्न परिवारबाट कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्नेगरी सरकार कानून निर्माणको तयारीमा जुटेको छ ।

आईतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् ।

ज्येष्ठ नागरिकप्रतिको पारिवारिक जिम्मेवारीलाई कानूनी तथा नीतिगत रुपमा सुनिश्चित गर्न राष्ट्रिय नीति, ऐन वा नियममार्फत सम्बोधन गर्नुपर्ने भन्दै उनले सरकार यसको तयारीमा रहेको जानकारी दिइन् ।

ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्न अन्तरपुस्ता ज्ञान, सिप तथा अनुभव हस्तान्तरणलाई उत्पादन र उत्पादनसँग जोडिएको सामाजिक विकाससँग जोड्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

उनले बन्दै गरेको ज्येष्ठ नागरिक सम्बन्धी राष्ट्रिय नीतिमा पुस्तान्तरण र ज्येष्ठ नागरिकको ज्ञान, सिप तथा अनुभव उपयोग गर्ने राष्ट्रिय मार्गदर्शन समेटिने बताइन् ।

उनले भनिन्, ‘जेष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको लागि परिवारबाट नै कर्तव्य निर्वाह गर्नुपर्छ जस्तो लाग्छ । पारिवारिक कर्तव्यबाट पन्छिएकाहरुलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गरेर हुन्छ कि बाध्यकारी व्यवस्था गरेर हुन्छ यसलाई सम्बोधन गर्न जरुरी छ । यसका लागि राष्ट्रिय नीति, ऐन वा नियममा समेट्न जरुरी छ । यसको लागि हामीले प्रयास समेत गरिरहेका छौँ । ज्येष्ठ नागरिकको सम्मानवपूर्वक बाँच्ने अधिकारको सुनिश्चितता गर्न अन्तरपुस्ता ज्ञान, सीप तथा अनुभवको हस्तान्तरणको माध्यमद्वारा उत्पादन तथा उत्पादनसँग जोडिएको समाजको विकासमा लाभ प्राप्त गर्ने नीति सरकारको रहेको छ । यसको लागि पुस्तान्तरणको लागि केही कार्यक्रम रहेपनि संविधानले कल्पना गरेको ज्ञान, सिप र अनुभवलाई प्रयोग गर्ने राष्ट्रिय मार्गदर्शन निर्माण गर्न जरुरी छ । हाल हामीले निर्माण गरिरहेको जेष्ठ नागरिक सम्बन्धी नीतिमा समेत हामीले यो विषय समेटेका छौँ ।’

समितिले आईतबार ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग छलफल गरेको हो ।

प्रकाशित मिति २०८२ माघ २६ गते आइतबार ०३:१७
हजुरको प्रतिक्रिया