गोरखा ।
प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा श्री भगवती क्लबले नेपाल एपीएफ क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आज सम्पन्न खेलको दोस्रो हाफको ५७औँ मिनेटमा श्री भगवती क्लबका जर्सी नम्बर १७ का इडिया एनिक्टले गरेको गोल नै निर्णायक बन्यो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका श्री भगवती क्लबका जर्सी नम्बर ३ का दिपक थापा ‘प्लेयर अफ दि म्याच’ घोषित भएका छन्।
भोलि हुने पहिलो सेमिफाइनल खेलमा आयोजक टोली र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ।
प्रकाशित मिति २०८२ माघ २८ गते मंगलबार ०७:३९