म्याग्दी ।
फागुन २१गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सम्पूर्ण तयारी म्याग्दीमा अन्तिम चरणमा पुगेको छ । म्याग्दीका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। प्रतिनिधि सभा निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण शुरु भएको छ ।
८२ मतदानस्थलका १२२ मतदान केन्द्रमा खट्ने कर्मचारीको टुंगो लगाइसकिएको र मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्तीपत्र वितरण शुरु गरेको छ ।प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सुरक्षाकर्मी तथा कर्मचारी खटनपटनसँगै निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताए ।
जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिने निर्वाचन प्रहरीको केन्द्र तय गरेर मतदानस्थल तर्फ खटाइसकेको छ । निर्वाचनका लागि खटाइएका कर्मचारी र शुरक्षाकमी नियुक्तीपत्र लिएर दुरी अनुसार १७ र १८ गते मतदान केन्द्र तर्फ लाग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकार दिए । जिल्लाका सबै मतदान स्थलको अनुगमन गर्नुका साथै सुरक्षा व्यवस्था बारेमा समेत चुस्तता दिएको प्रजिअ आचार्यले बताउनुभयो ।
निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा पनि ल्याएको हुनाले निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । आचारसंहिता अनुगमन अधिकृत कुलप्रसाद आचार्यले जिल्लामा लिखित र मौखिक गरी ९ वटा उजुरी आएको बताए । उनका अनुसार हालसम्म आएका उजुरी मध्ये एउटालाई लिखित जवाफ मागिएको र अन्यलाई मौखिक रुपमा सचेत गराइएको छ । सामाजिक सञ्जालमा गरेका पोष्टलाई हटाउन लगाइएको छ ।
म्याग्दीमा ८२ वटा मतदानस्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुका लागि कारागारमा एउटा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ। म्याग्दीमा कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् । फागुन १८ गतेभित्र सबै मतदान स्थलमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसक्ने गरी खटनपटनको काम भइरहेको छ ।
निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ । यसबाहेक सुरक्षाकर्मी र अनुगमनकर्ताहरू पनि खटिनेछन् । निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लामा एकीकृत सुरक्षा रणनीति लागू गरिएको छ । मनोनयन दर्तादेखि निर्वाचन प्रचार–प्रसार, मौन अवधि, मतदान, मतगणना तथा विजयी उत्सवसम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लास्थित सुरक्षा निकायहरूबीच आवश्यक समन्वय र सहकार्य सुदृढ बनाइएको छ । मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर व्यवस्थापन गरिएको बताए ।
निर्वाचन आयोगले मतदातालाई आफ्नो नाम मतदाता नामावलीमा सुनिश्चित गरी मतदानमा सहभागी हुन आह्वान गरेको छ । सरोकारवाला निकायहरूले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आचारसंहिता पालना गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८२ फागुन १६ गते शनिबार ०७:१३




