पोखरा ।
पोखरामा ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ बारेको तालिम सम्पन्न भएको छ ।
शुक्रबारदेखि सुरु भएको तालिममा ५ दर्जन पत्रकार सहभागि रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश सहयोगमा सुरु तालिमको उद्घाटन गर्दै प्रेस रजिष्ट्रार विमला भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्ने बताइन् । प्रविधिले विश्वलाई ग्लोबल भिलेजमा परिणत गरिसकेको भन्दै उनले पत्रकारितामा एआईको प्रयोगले कार्यक्षमता वृद्धि गर्ने धारणा राखिन् । तथ्य जाँचमा शुद्धता ल्याउन र नेपाली सञ्चार सामग्रीलाई विश्वव्यापी पहुँचमा पु¥याउन एआईले महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क थियो । पत्रकारितामा तथ्यांक र एल्गोरिदमको युग सुरु भइसकेकाले अब पुरानै ढर्रामा रमाएर बस्न नहुने उनको भनाइ थियो । उनले पत्रकारिता क्षेत्रमा देखिएको अल्छिपन र ‘काम गरिदिनुस् न’ भन्ने जस्ता परनिर्भरतालाई त्यागेर सक्रियता बढाउनुपर्ने बताइन् । गण्डकी प्रदेश सरकारले आमसञ्चार क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिँदै उनले आगामी दिनमा पोडकास्ट, मल्टी मिडिया र डाटा पत्रकारिताका लागि करिब ८ हप्ताका विशेष कोर्स सञ्चालन गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिइन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पनि बोलेका थिए ।
मञ्च अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव परशुराम शर्मा र स्वागत उपाध्यक्ष राजाराम पौडेलले गरे । उनीहरुलाई पत्रकार अजय शर्माले प्रशिक्षण दिएका हुन् ।
प्रकाशित मिति २०८३ असार ६ गते शनिबार ०१:०२




