२०८३ असोज २३ गते शुक्रबार

लोमान्थाङमा गल्फ प्रतियोगिता, नेपालका उत्कृष्ट पाँच प्रोफेसनलबीच ‘नेपाल मास्टर’को प्रतिस्पर्धा

लोमान्थाङमा गल्फ प्रतियोगिता, नेपालका उत्कृष्ट पाँच प्रोफेसनलबीच ‘नेपाल मास्टर’को प्रतिस्पर्धा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ४ गते बिहीबार १२:११

पोखरा । विश्वकै सर्वाधिक उचाइमा रहेको लोमान्थाङमा अवस्थित मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण यही भदौ १५ गते हुने भएको छ । यस वर्ष प्रतियोगितालाई जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण...

पोखरा ।

विश्वकै सर्वाधिक उचाइमा रहेको लोमान्थाङमा अवस्थित मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण यही भदौ १५ गते हुने भएको छ ।

यस वर्ष प्रतियोगितालाई जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले ‘टि फर क्लाइमेट’ नाम दिइएको मुस्ताङ गल्फ कोर्सका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिए ।

अध्यक्ष विष्टका अनुसार हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई विश्वको सबैभन्दा अग्लो गल्फ मैदानबाट उजागर गर्ने, नेपाली गल्फको क्षमता र मुस्ताङको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले यस वर्षको प्रतियोगिता विगतका संस्करणभन्दा फरक अवधारणामा आयोजना गर्न लागिएको अध्यक्ष विष्टले बताए ।

प्रतियोगिताको अर्को आकर्षणका रूपमा सन् २०२६ मा प्रोफेसनल गल्फतर्फ नेपालका उत्कृष्ट पाँच खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ ।

उक्त प्रतिस्पर्धामा प्रथम हुने खेलाडीलाई ‘नेपाल मास्टर’ घोषणा गर्दै ७५ हजार रुपैयाँ नगदसहित मास्टर कोट प्रदान गरिनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै, एम्योचरतर्फ १० महिला र ४० पुरुष गरी ५० जना खेलाडीले सहभागिता जनाउने बताइएको छ । प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड ढाँचामा खेलाइने अध्यक्ष विष्टले जानकारी दिए ।

प्रतियोगितामा विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ र सिनियर विजेतालगायत विधामा ट्रफी प्रदान गरिनेछ ।

विगतका संस्करणको निरन्तरतास्वरूप यसपटक पनि होल इन वन गर्ने खेलाडीलाई रैथाने घोडा पुरस्कार प्रदान गरिनेछ ।  अध्यक्ष विष्टका अनुसार गल्फ प्रतियोगितामा घोडालाई पुरस्कारका रूपमा प्रदान गर्ने यो अभ्यास आफैंमा मौलिक र अनौठो छ ।

मुस्ताङ गल्फ कोर्सलाई आधिकारिक रूपमा गिनिज वल्र्ड रेकर्डमा दर्ता गराउने पहललाई पनि यस वर्ष विशेष प्राथमिकता दिइएको छ ।

अध्यक्ष विष्टले गिनिज रेकर्डका लागि आवश्यक प्रारम्भिक आधार तथा प्रमाणहरू तयार भइसकेको र गिनिज वल्र्ड रेकड्र्सको टोलीसँग इमेलमार्फत नियमित संवाद भइरहेको बताए ।

उनका अनुसार गिनिजको टोली नेपाल आउन सकारात्मक रहे पनि समय र कार्यतालिका नमिलेका कारण यसपटक टोलीको प्रत्यक्ष सहभागिता हुन नसकेको हो ।

यद्यपि प्रोफेसनल गल्फरहरूको प्रतिस्पर्धा समावेश गरिएकाले गिनिज रेकर्डको दाबी प्रक्रियालाई थप बल पुग्ने आयोजकको विश्वास छ ।

अध्यक्ष विष्टले मुस्ताङ गल्फबाट प्रदान गरिने ट्रफीमा नेपालकै पाटनमा उत्पादन भएका सामग्रीलाई प्राथमिकता दिइएको जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीहरू आफ्नै खर्चमा मुस्ताङ पुग्नेछन् । अध्यक्ष विष्टले प्रतियोगिताको प्रवद्र्धन तथा समाचार सम्प्रेषणमा विगतदेखि पत्रकार तथा सञ्चार क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गर्दै यसपटक पनि सञ्चार क्षेत्रको निरन्तर सहयोगको अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति २०८३ भदौ ४ गते बिहीबार १२:११
हजुरको प्रतिक्रिया