पोखरा, १३ भदौ
हरितालिका तिज पर्व सुरु भएको छ । नेपाली महिलाहरुको पर्वका अवसरमा आज दर खाइँदै छ । भदौ शुक्ल द्वितिया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्नको लागि शक्ति आर्जन गर्न नेपाली नारीहरुले दर खाने परम्परा छ ।
दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तिजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिएको छ ।
तिजमा दरखाने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चिज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने चलन छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा सौभाग्यको प्रतीक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्र पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रही आएको छ ।
प्रकाशित मिति २०७९ भदौ १३ गते सोमबार १०:३३



