२०८३ साउन २१ गते बिहीबार

दशैंको आज पाँचौं दिन, स्कन्ददेवीकाे पूजा आराधना गरिँदै

दशैंको आज पाँचौं दिन, स्कन्ददेवीकाे पूजा आराधना गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १४ गते शुक्रबार १०:५१

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।

 

पोखरा

आज दशैंको पाँचौ दिन । नवरात्रको पाँचाैं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ ।

स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ । छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वतीलाई नै स्कन्दमाताका नामले कहलाउनुभएको हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन् ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा पोखराको विन्ध्यवासिनी, भद्रकाली मन्दिर लगायत शक्तिपीठहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।

 

प्रकाशित मिति २०७९ असोज १४ गते शुक्रबार १०:५१
हजुरको प्रतिक्रिया