पोखरा
तत्कालीन पश्चिमाञ्चल क्षेत्र भलिबल खेलका लागि उर्बर मानिन्थ्यो । यहाँ हुने भलिबल खेलका प्रतियोगिताले एकसे एक खेलाडी उत्पादन हुन्थे । देशैभर हुने सानाठूला प्रतियोगितामा सबैको आँखा पश्चिमाञ्चलतिरै सोझिन्थ्यो ।
त्यो क्रम अहिले पनि टुटेको छैन, राष्ट्रियअन्तर्राष्ट्रिय टोली नै सम्हाल्ने नेतृत्वको मौका गण्डकीको काँधमा छ । यसैको उदाहरणमध्येकी एक हुन्, नेपाली राष्ट्रिय भलिबल टोली कप्तान अरुणा शाही ।
शाहीमात्रै होइन, पुरुष टोलीकै कप्तान इमबहादुर राना पनि गण्डकीकै हुन् । त्यसबाहेक खेल कौशलबाटै आफ्नो छुट्टै पहिचान बनाएका मञ्जु गुरुङ, सिपोरा गुरुङ पनि गण्डकी प्रदेशकै उत्पादन हुन् ।
३० को दशकपछि भलिबल खेलमा बढेको आकर्षणको ग्राफ गण्डकीमा अझै पनि घटेको छैन । पुरुष भलिबलमा गण्डकीले विभागीय टिमलाई नै चुनौति दिन्छ । खेलाडीको मात्रै आकर्षण नभएर भलिबल खेल हेर्न हुरुक्कै हुने दर्शकको संख्या पनि उस्तै छ ।
गत असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भलिबलमात्रै यस्तो प्रतियोगिता भयो, जसमा खचाखच दर्शक व्यवस्थापन गर्न आयोजकलाई नै हम्मेहम्मे प¥यो । अन्य खेल निशुल्क हुँदा भलिबलमा शुल्क लिँदासमेत दर्शकको कमी भएन ।
जिल्ला जिल्लामा हुने सानाठूला प्रतियोगिताले खेलाडी र दर्शकको भलिबलमा क्रेज बढाएको हो । हरेकजसो पर्वको अवसर गण्डकी प्रदेशका गाउँ गाउँमा भलिबल प्रतियोगिता आयोजना हुन्छ । मेला महोत्सवले पनि भलिबललाई प्राथमिकता दिएकै छन् ।
स्थानीय तहले पनि नियमित रुपमा मेयर कप र अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । गण्डकी प्रदेश भलिबल संघले समेत प्रदेशस्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता बुधबारदेखि पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका भलिबल प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाउन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको दाबी छ । आयोजकका अनुसार पुस २४ देखि सञ्चालन हुने एनभिए कप राष्ट्रिय भलिबल प्रतियोगिता र माघ ८ गतेदेखि पोखरामै हुने तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय आमन्त्रण भलिबल प्रतियोगिताका लागि पनि यसै प्रतियोगितामार्फत खेलाडी छनोट गरिनेछ ।
गण्डकीका ११ जिल्लाका टिमले सहभागिता जनाउने संघका महासचिव टहलसिंह थापाले बताए । प्रतियोगिताले खेलप्रति लगाव बढाउने उनको दाबी छ । ‘नयाँ प्रतिभाशाली खेलाडीहरुको प्रतिभा प्रस्फुटन गरेर ऊर्जा थप्नेछ’, उनले भने ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने थापाले जानकारी दिए । सान्त्वनाले २५ हजार रुपैयाँ पाउनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र कोचले पनि जनही १० हजार रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हरेक जिल्लालाई आतेजाते खर्चवापत ५० हजार रुपैयाँका दरले प्रदान गर्ने महासचिव थापाले बताए । प्रतियोगितामा सहभागिता जनाउनलाई केही जिल्लाले प्रतियोगिताको लागि टिम छनोट गरिसकेको छ ।
प्रतियोगिता गर्नलाई ३१ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान छ । सुरुआती चरणका खेल हेर्नलाई दर्शकले १ सय रुपैयाँको टिकट काट्नुपर्नेछ । सेमिफाइन र फाइनल खेल हेर्न भने २ सय रुपैयाँको टिकट लाग्ने गण्डकी भलिबल संघका अध्यक्ष नविनकुमार गुरुङले जानकारी दिए । बचत भएको रकमले महिला तथा पुरुष भलिबलको एकेडेमी स्थापना गरिने उनले बताए ।
प्रकाशित मिति २०७९ पुस ४ गते सोमबार ०६:२६




