सहारा वर्षोत्कृष्ट खेलाडी अवार्डबाट राष्ट्रिय टिमका खेलाडी अनन्त तामाङ सम्मानित भएका छन् । पोखरामा आजदेखि सुरु भएको २२ औं आहारारा पोखरा गोल्डकपको समुद्घाटन समारोहमा पोखराका मेयर धनराज आचार्य र सहारा क्लब अध्यक्ष सुरज गुरुङले पुरस्कृत गरेका हुन् ।
तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् ।
पुरस्कारको राशी ५० हजार ५ रुपैयाँ छ । यसअगाडि उक्त पुरस्कार राशी ३५ हजार रुपैयाँ थियो भने यसै वर्षदेखि १५ हजार रूपैयाँ वृद्धि गरिएको हो ।
सहाराले बर्सेनि एकजना राष्ट्रिय खेलाडीलाई वर्षोत्कृष्ट खेलाडीबाट सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिस्ट पुरस्कृत भइसकेका छन् ।
२३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा नयाँ थिम गीत पनि सार्वजनिक गरिएको छ । यसैवर्षदेखि आराहारा गोल्डकपको नाम परिवर्तन भएर आहारारा पोखरा गोल्डकप भएसँगै प्रतियोगिताको आधिकारिक गीत पनि फेरिएको हो ।
गीतकार आरजू विष्ट सल्यानीको शब्द रहेको गीतमा विनोद बानियाँको संगीत र बानियाँ र ममत गुरुङले संयुक्त स्वर दिएका छन् ।
उद्घाटन खेलमा सहारा र धरान फुटबल क्लब भिड्दैछन् ।
प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०२:२३




