पब्लिक फोरेबाट प्रत्यक्ष प्रसारण
पोखरा
पोखरामा जारी आहारारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनल अन्तर्गत आज मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच खेल हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा २ बजेदेखि सुरु हुने प्रतियोगिता यी दुवै क्लब पहिलो पटक भिड्न लागेका हुन् ।
यी दुवै टोलीको स्पर्धामा रोचक के छ भने मच्छिन्द्र क्लब ए डिभिजन लिग विजेता हो भने चर्च ब्वाइज बि डिभिजन लिगको शीर्ष स्थानमा रहँदै हालैमात्र ए डिभिजनमा उक्लिएको टिम हो । दुवै लिग विजेता टोली पोखरा फुटबल मैदानमा पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
आहाराराको २२ औं संस्करणसम्म आइपुग्दा पहिलो पटक सहभागी भएको चर्च ब्वाइज आक्रामक उपस्थितमा छ ।
प्रिक्वाटरफाइनलमा आहाराराको ६ पटकको विजेता नेपाल पुलिसलाई स्तब्ध पार्दै चर्चले चर्चा बटुल्यो । पहिलो हाफमा १–० ले पछि परेको पुलिससँग खेललाई २–१ पुनरागमन गर्दै चर्चले नतिजा उल्ट्याएको थियो ।
चर्च ब्वाइजले हालैमात्र राष्ट्रिय टिमका तेज तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, दिनेश राजवंशीलगायत खेलाडी अनुबन्ध गरेर नयाँ टिम बनाएको छ । सहारा वर्षोत्कृष्ट खेलाडीसमेत बनेका अनन्तले चर्च ब्वाइजको कप्तानी सम्हालेका छन् ।
‘बाई’ पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश पाएको मच्छिन्द्र ए डिभिजन लिगको विजेता हो । लिग वरियतामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रले आहारारामा हालसम्म ५ पटकसम्म सहभागी भएको छ । उपाधि नजिते पनि २ पटक सेमिफाइनल, २ पटक क्वाटरफाइनलसम्म पुगेको टोली हो ।
मच्छिन्द्र २०६६ सालको आहारारा पोखरा(आहा) गोल्डकपको क्वाटरफाइनलमा विभागीय टिम नेपाल आर्मीसँग ४–१ ले पराजित भएको थियो ।
०६९ मा पनि क्वाटरफाइनलमै आयोजक सहारासँग पराजित भएर बाहिरिनु परेको थियो । खेलको अन्तिम समय (८९ मिनेट)मा सहाराले पेनाल्टीमार्फत गोल गर्दै जित निकालेको थियो ।
०७० मा मच्छिन्द्र आहारारा पोखरा गोल्डकपमा पहिलो पटक सेमिफाइनल पुगेको थियो । उक्त खेलमा पनि आयोजक सहारासँगै पराजित हुन पुगेको थियो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सहाराले ५–३ ले जित निकाल्दै फाइनल पुग्दा मच्छिन्द्रको उपाधि नजिक पुग्ने सपना अधुरै रह्यो ।
त्यसयता लामो समय आहाराराको कुनै संस्करणमा सहभागी नभएको मच्छिन्द्र ०७७ मा सहभागी भएको थियो ।
तर, उक्त खेलमा मच्छिन्द्रले अघिल्ला संस्करणमा जस्तो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सकेन । प्रिक्वाटरफाइनलमै विदेशी टिम अमेरिकन रुट्ससँग २–० ले पराजित हुन पुग्यो ।
अघिल्लो हारको बदला लिँदै ०७८ को आहारारा पोखरा गोल्डकप संस्करणमा पुनः सेमिफाइनलसम्म पुग्यो । आहारारा प्रतियोगितामा दोस्रो पटक सेमिफाइनल पुगेको मच्छिन्द्रको फाइनल पुग्ने सपना भने विभागीय टिम एपीएफले रोक्यो । सेमिफाइनलमा मच्छिन्द्र ३–१ ले हारेको थियो ।
मच्छिन्द्रलाई हराउँदै फाइनल प्रवेश गरेको एपीएफ पछि पहिलो पटक प्रतियाेगिताकै उपाधि जित्न सफल रह्यो ।
खेलकाे प्रत्यक्ष प्रसारण पब्लिक फाेरकेले गरिरहेकाे छ ।
प्रकाशित मिति २०७९ पुस १७ गते आइतबार ०३:०५




