पोखरा
पोखरामा जारी आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलबाट ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब बाहिरिएको छ । पोखरा रंगशालामा आइतबार भएको क्वाटरफाइनल खेलमा ए डिभिजनमा हालैमात्र उक्लिएको चर्चब्वाइजसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
चर्चको जितमा निर्णायक रहे, आशीष चापागाईं र आशीष चौधरी । दुवै बी डिभिजनमा राम्रो अनुभव बटुलेका खेलाडी हुन् । चापागाईंले २२ औं र ४६ औं मिनेटमा २ गोल गरेका थिए भने आशीष चौधरीले खेलको ६५ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता तेब्बर बनाएका थिए ।
पहिलो हाफमै व्यक्तिगत २ गोल गरेका चापागाईं बी डिभिजन लिगको उच्च गोलकर्ता पनि हुन् । खेलको २२ औं मिनेटमा चर्चका बिकु राईको लामो पासलाई पहिले अञ्जन विष्टले हेडिङ गरे पनि गोल रक्षक विशाल श्रेष्ठले सुरक्षित गर्न कोशिषमा थिए ।
तर, उनको हातबाट बल फुत्किएको मौकालाई अवसरमा बदल्दै चापागाईंले गोलमा परिणत गरे ।
चापागाईंको दोस्रो गोलमा आशीष चौधरीले असिस्ट गरेका थिए । उनले खेलको ४६ औं मिनेटमा चौधरीको पासलाई विपक्षी पोस्ट जाली चुमाएका हुन् । पहिलो हाफमा थपिएको अतिरिक्त ३ मिनेटको सुरुआतमै पाएको अवसरलाई उनले गोलमा बदले ।
खेलको ६५ औं मिनेटमा आशीष चापागाईंको असिस्टमा आशीष चौधरीले गोल गरेका हुन् । चापागाईंको क्रस पासलाई क्यास गर्र्दै चौधरीले सुन्दर फिनिसिङ दिए । चापागाईं खेलको म्यान अफ दी म्याच घोषित भएका छन् ।
अघिल्लो पटक सेमिफाइनलसम्म यात्रा तय गरेको मच्छिन्द्र यस पटक भने क्वाटरफाइनलमै रोकिएको छ । पहिलो हाफमा पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा मच्छिन्द्रले लज्जास्पद हार व्यहोर्नुप¥यो । दोस्रो हाफमा भने मच्छिन्द्रलाई चर्च ब्वाइजले दबाबमा राखेको थियो ।
खेलको ८८ औं मिनेटमा शौरभ सुब्बाले मच्छिन्द्रका लागि सहानुभूति गोल गरे । उनले अभिषेक गुरुङको असिस्टमा खेलको अन्तिममा गोल फर्काएका हुन् ।
शौरभ र गुरुङ दुवै मध्यान्तरपछि मैदान प्रवेश गरेका थिए ।
प्रकाशित मिति २०७९ पुस १७ गते आइतबार ०४:०३




