पोखरा
पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आज विभागीय टिम नेपाल आर्मी र संकटा क्लब भिड्दैछन् । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजेदेखि खेल सुरु हुनेछ ।
आहारारारा पोखरा गोल्डकपको २२ औं संस्करणम आउँदा संकटा र आर्मी दोस्रो पटक मैदानमा भिड्न लागेका हुन् । यसअघि ०७६ को क्वाटरफाइनलमा दुवै टोली आमनेसामने भएका थिए । जसमा विभागीय टोली आर्मीले संकटामाथि ३–० को फराकिलो जित निकालेको थियो ।
सहारा क्लबले आयोजना गर्दै आएको आहारारा पोखरा गोल्डकपमा नेपाल आर्मीले हालसम्म १४ प्रतियोगितामा भाग लिएको छ भने संकटाले केवल ६ पटक । जसमा संकटाले एक पटक उपाधि चुमिसकेको छ ।
दुवै टिम बाई पाउँदै प्रिक्वाटरबिनै सिधैं क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । मैदानमा संकटा अघिल्लो पटकको हारको बदला लिने दाउमा हुनेछ भने आर्मीलाई आफ्नो विरासत जोगाउनुपर्ने दबाब छ ।
हाल आर्मी ए डिभिजन लिगको दोस्रो वरियतामा छ भने संकटा सातौं । ३ पटकसम्म लिग विजेता रहेको संकटा यसपटक खेलाडी अनुबन्धमा आक्रामक बनेको छ । हालैमात्र ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको छ ।
संकटामा प्रवेश पाउने नयाँ सदस्यमा राष्ट्रिय टिमका सुनिल बल, आयुष घलान, सुरज ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टीकेन्द्र थापा छन् । आयुष र निशान थ्रीस्टारबाट संकटा आएका हुन् । टिममा आएका गौतम श्रेष्ठ पछिल्लो पटक नेपाल आर्मीकै प्रतिनिधित्व गर्दैै लिग खेलेका थिए ।
नयाँ खेलाडी अनुबन्ध गरेपछि पहिलो पटक मैदान छिरेकाले पनि आजको खेल संकटाका लागि महत्वपूर्ण मानिनेछ । विभागीय टिमसँगको पहिलो भिडन्त नै संकटाको नयाँ टिमको परीक्षा हुनेछ ।
अभागी आर्मी !
आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म आइपुग्दा विभागीय टोली १४ पटक सहभागी भएको छ । पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहारारामा आर्मी ‘अभागी टिम’ मानिन्छ ।
०६० सालमा पहिलो पटक भाग लिएर सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता ४ पटक फाइनल पुगिसकेको छ । तर, प्रत्येक पटक फाइनल पुगेर पनि उपाधि चुम्न सकेको छैन ।
आर्मी पहिलो पटक २०६५ मा फाइनल पुगेको थियो । तर, त्यतिबेला अर्को विभागीय टोली नेपाल पुलिससँग ५–० को फराकिलो गोलअन्तरले पराजित हुन पुग्यो ।
लगत्तै ०६६ मा पनि आर्मी फाइनल पुगेको थियो । फाइनलमा अघिल्लै संस्करण प्रतिद्वन्द्वी आमनेसामने थिए । आर्मीलाई अघिल्लो हारको बदला लिँदै उपाधि चुम्ने अवसर थियो । तर, आफूले पाएको अवसर सदुपयोग गर्न भने सकेन । फाइनलमा नेपाल पुलिससँगै १–० ले पराजित भयो ।
त्यस्तै, त्रिभुवन आर्मी क्लब ०७२ सालमा पनि फाइनलमा पुगेको थियो । त्यतिबेला पनि उपाधि रक्षा गर्न सकेन । फाइनल पुगेको मनाङमस्र्याङ्दीसँग विभागीय टोली १–० पराजित हुन पुग्यो ।
०७५ मा पनि आर्मी फाइनलमै हार व्यहोर्नुप¥यो । त्यतिबेला फाइनलमा आर्मी र थ्रीस्टार क्लबबीच भएको खेल निर्धारित समय २–२ को बराबरीमा टुंगिएको थियो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा थ्रीस्टारले ५–४ ले बाजी मा¥यो ।
यता आहाराराको २ दशक लामो इतिहासमा संकटाको अनभुव छोटो छ । संकटा हालसम्म ६ पटकमात्रै प्रतियोगितामा सहभागी छ । तर, छोटो अनुभव भए पनि संकटाले एक पटक उपाधि २ पटक सेमिफाइनल खेलिसकेको छ ।
संकटाले ०७७ मा फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि उचालेको थियो । उक्त खेल निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा गएको थियो । जसमा संकटा ४–२ ले विजयी भएको थियो ।
खेल पब्लिक फाेरकेबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रकाशित मिति २०७९ पुस १८ गते सोमबार १२:०६




