पोखरा
विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालमा भएको क्वाटरफाइनल खेलमा आर्मीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
जितका लागि संकटा क्लबका मेसुके, सुरज जिउ ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरेका थिए । अब सेमिफाइनलमा संकटाले एपीएफसँग भिड्नेछ ।
खेलमा भने विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिले अग्रता लिएको थियो । खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, अग्रतालाई कायम राख्न नसक्दा पराजय व्यहोर्नुप¥यो ।
खेलको १४ औं मिनेटको अन्तिममा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाइदिएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै १५ औं मिनेटमा नवयुग श्रेष्ठले बललाई विपक्षी गोलपोस्टको जाली चुमाए ।
तर, पहिलो हाफमै संकटाले अग्रतालाई बराबरीमा ल्यायो । खेलको ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबर बनाए । उनले कप्तानसमेत रहेका सुनिल बलको असिस्टमा गोल गरेका हुन् ।
खेलको ७३ औं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फिर्ता भएको थियो । सोही बललाई उनले सुन्दर फिनिसिङ दिएका हुन् ।
खेलमा निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त ६ मिनेटको सुरुआतमा संकटाले पुनः गोल गर्दै अग्रता दोब्बर बनायो । संकटाको मेसुकेले दिएको पासलाई ‘वन एन वन’मा स्टेफन बिनोङले गोल गरे ।
पोस्ट नजिक पुगेर आर्मीका टंक बस्नेतले बचाउन प्रयास गरे पनि सफल भएनन् ।
आहारारारा पोखरा गोल्डकपको २२ औं संस्करण आउँदा संकटा र आर्मी दोस्रो पटक मैदानमा भिडेका हुन् । यसअघि ०७६ को क्वाटरफाइनलमा दुवै टोली आमनेसामने भएका थिए ।
जसमा विभागीय टोली आर्मीले संकटामाथि ३–० को फराकिलो जित निकालेको थियो ।
प्रकाशित मिति २०७९ पुस १८ गते सोमबार ०४:११




