२०८३ साउन २१ गते बिहीबार

आहा! रारा पोखरा गोल्डकप विशेष

एपीएफविरुद्ध संकटाः समान विजेता, दोस्रो पटक सँगै मैदानमा

एपीएफविरुद्ध संकटाः समान विजेता, दोस्रो पटक सँगै मैदानमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २० गते बुधबार ११:३६

२२ औं संस्करणसम्म आइपुग्दा दुवै टिमले एकएक पटक उपाधि जितेका छन् भने यो सँगै २ पटक सँगै मैदानमा आमनेसामने हुँदैछन् । यसअघि २०७७ सालको सेमिफाइनलमा दुवै टिम भिडेका थिए ।

पब्लिक फोरेबाट प्रत्यक्ष प्रसारण

पोखरा

पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनल खेल सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा संकटासँग साविक विजेता विभागीय टिम भिड्दैछन् ।

पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुने । नयाँ खेलाडी अनुबन्ध गरेर पहिलो पटक प्रतियोगितामा होमिएको संकटा र साविक विजेताबीच फाइनलमा पुग्न मैदानमा संघर्ष गर्नेछन् ।

बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेको संकटाले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । एपीएफले बुढासुब्बा गोल्डकप आयोजना गर्दै आएको पूर्वेली क्लब धरान एफसीलाई पराजित गरी सेमिफाइनल प्रवेश गरेको थियो ।

२२ औं संस्करणको आहारारा पोखरा गोल्डकपसम्म आइपुग्दा दुवै टोलीले एकएक पटक उपाधि चुमेका छन् । एपीएफले अघिल्लो संस्करणको फाइनलमा मनाङमस्र्याङ्दीलाई हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।

निर्धारित खेल २–२ को बराबरीमा टुंगिएपछि सडेनडेथमा एपीएफले ५–४ ले उपाधि हात पारेको थियो ।

त्यसको अघिल्लो संस्करण संकटाले उपाधि जितेको थियो । संकटाले ०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेल संकटाले ट्राइब्रेकरमा ४–२ ले जितेको थियो ।

अघिल्लो वर्षको ए डिभिजन लिगमा केही खस्किएको संकटा यसै सिजनदेखि खेलाडी अनुबन्धमा आक्रामक तरिकाले लागेको छ । हालैमात्रै ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको छ ।

संकटामा प्रवेश पाउने नयाँ सदस्यमा राष्ट्रिय टिमका सुनिल बल, आयुष घलान, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापा छन् । विभागीय टिम आर्मीलाई क्वाटरफाइनलमा रोक्दा संकटा पहिलो पटक आफ्ना नयाँ खेलाडीसहित मैदानमा उत्रिएको हो ।

एक पटक उपाधि जितेको संकटा योसँगै ३ पटक सेमिफाइनलमा पुगेको हो । यसपटक डिफेन्डिङ च्याम्पियन एपीएफलाई हराउँदै दोस्रो पटक फाइनल पुग्ने दाउमा छ भने एपीएफ आफ्नो अघिल्लो जित दोहो¥याउने लक्ष्यमा हुनेछ ।

२२ औं संस्करणसम्म आइपुग्दा दुवै टिमले एकएक पटक उपाधि जितेका छन् भने यो सँगै २ पटक सँगै मैदानमा आमनेसामने हुँदैछन् । यसअघि २०७७ सालको सेमिफाइनलमा दुवै टिम भिडेका थिए ।

जसमा एपीएफलाई २–० ले स्तब्ध पार्दै संकटा फाइनलमा पुगेको थियो । र, सोही वर्ष नै संकटाले पहिलो पटक आहाराराकै उपाधि जित्न सफल रह्यो । आहारारामा यो एपीएफको छैटौं सेमिफाइनल खेल हो ।

एकपटक उपाधि जित्दा एपीएफ २ पटक फाइनल पुगेको छ ।

अघिल्लो संस्करणको सेमिफाइनलमा मच्छिन्द्र क्लबलाई हराउँदै फाइनल पुगेको थियो भने, त्यसअघि ०६४ को फाइनलमा नेपाल पुलिससँग पराजित भएको थियो । उक्त खेलमा अर्को विभागीय टोली पुलिससँग २–० गोलअन्तरले पराजित हुँदै उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

भोलि सेमिफाइनलको खेल अन्तर्गत चर्च युनाइटेड एफसी र भुटनिज युथ एससी युएसएबीच हुनेछ । आजको विजेताले यी दुई टोलीको विजेतासँग आहारारा पोखरा गोल्डकपको उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति २०७९ पुस २० गते बुधबार ११:३६
हजुरको प्रतिक्रिया