पोखरा
मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्ड कपबाट ३ लाख बचत भएको छ । सहारा क्लबको आयोजनामा गत पुष १४ देखि २३ गतेसम्म भएको २२ औं संस्करणको आहारारा पोखरा गोल्ड कपबाट ३ लाख १८ हजार बचत भएको हो ।
गोल्ड कपमा ९४ लाख ६५ हजार ६ सय २६ रुपैंयाँ आन्दानी हुँदा ९१ लाख ४६ हजार ९ सय ६९ खर्च भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जनानकारी दिए ।
प्रतियोगतामा प्रायोजनबाट ६४ लाख ५८ हजार, प्रवेश टिकटबाट १७ लाख ८६ हजार आम्दानी भएको गुरुङले बताए । गोल्ड कपको मुख्य प्रायोजक हिमश्री फुड्सले २२ लाख २५ हजार सहयोग गरेको थियो । सहारा क्लबका अध्यक्ष हरिराज गुरुङ सुरजका अनुसार फाइनल खेलमा मात्र १० लाखको टिकट बिक्री भएको थियो । हिमश्री फुड्सले २०५९ देखि मुख्य प्रायोजक रहेर खेललाई सहयोग गर्दै आएको छ । खेलाडी दैनिक भ्रमणमा ३० लाख २३ हजार खर्च भएको गुरुङले बताए ।
बचत रकम सहारा क्लबले पोखराको दोविल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा खर्च गरिने छ । कठिन परिस्थिति र अनाथ गरी ११ जना बालकहरुको शिक्षा, लालनपालनकाे जिम्मा क्लबले लिएकाे छ । बालकहरुको लालनपालनको साथै खेलाडी उत्पादनमा समेत क्लबले जोड दिएको छ ।
२२ औं संस्करणमा १० टिम सहभागी भएकोमा संकट क्लब विजेता भएको थियो भुटनीज क्लब उपविजेता बनेको थियो । क्लब अध्यक्ष गुरुङले २३ औं संस्करणको आहारारा पोखरा गोल्ड कपको आन्तरिक तयारी सुरु भएको जानकारी दिए । अखिल नेपाल फुटबल संघ एन्फालाई खेल तालिका उपलब्ध गराइदिन आग्रह समेत गरेको गुरुङको भनाइ छ । आगामी संस्करणमा पनि २ विदेशी टिम सहभागी गराउने गरी तयारी थालिएको छ । २२ औं संस्करणको आहारारा पोखरा गोल्ड कपका सम्पूर्ण खेलहरु पब्लिक फोरके टिलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।
प्रकाशित मिति २०८० भदौ १२ गते मंगलबार १०:३१




