पोखरा
पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्डकपको राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्वार्टरफाइनल प्रवेश गरेको छ ।
आर्मीले अब माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।
आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरेका थिए ।
उनले खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाएका थिए ।
अधिकांश नयाँ खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीच कडा प्रतिस्पर्धा भएको थियो ।
खेलको दोस्रो हाफमा राइजिङले आर्मीलाई दबाबमा राखे पनि गोल गर्न सकेनन् ।
आर्मीलाई गोलकर्तासमेत रहेका भरत खवासले कप्तानी भूमिका सम्हालेका थिए । उनी प्रतियोगिताको म्यान अफ दी म्याचसमेत बनेका छन् ।
आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।
पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहारारा इतिहासमा आर्मी ‘अभागी टिम’ मानिन्छ ।
पहिलो पटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता ४ पटक फाइनल पुगिसकेको छ ।
तर, उपाधि जित्न सकेको छैन । आर्मी पहिलो पटक २०६५ मा फाइनल पुगेको थियो ।
त्यतिबेला नेपाल पुलिससँग ५–० ले पराजित भयो ।
०६६ मा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले नै १–० ले पराजित ग¥यो ।
०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मर्स्याङ्दीले १–० ले हरायो ।
०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार व्यहो¥यो ।
अघिल्लो संस्करणमा आर्मी क्वार्टरफाइनलबाटै घर फर्किएको थियो ।
क्वार्टरफाइनलमा संकटा क्लबले आर्मीलाई ३–१ ले पराजित गरेको थियो ।
आर्मीलाई हराएको संकटाले २२ औं संस्करणको आहारारा उपाधिसमेत चुम्न सफल रह्यो ।
अर्को खेल भोलि मच्छिन्द्र र जावलाखेलबीच तेस्रो प्रिक्वार्टर खेल हुनेछ ।
प्रकाशित मिति २०८० माघ १० गते बुधबार ०६:०८




