चर्चब्वाइज अतिरिक्त समयमा २–१ ले स्तब्ध
पोखरा
चर्चब्वाइज युनाइटेडलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ ।
बिहीबार भएको सेमिफाइनल खेलमा आर्मीले चर्चब्वाइजलाई २–१ ले पराजित गरेको हो ।
आर्मीको जितका लागि दिनेश हेन्जन र रशबहादुर मगरले १/१ गोलको योगदान गरे । चर्चब्वाइजका तर्फबाट समीर तामाङले गोल गरेका थिए ।
खेलमा आर्मीले नै अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफमा आर्मीको ६१ औं मिनेटमा गोल गर्दै हेन्जङले टिमलाई अग्रता दिलाए ।
हेन्जनले करिब ३० यार्डबाट पाएको फ्रिकिकलाई सदुपयोग गर्दै बललाई विपक्षी गोलपोस्टको जाली चुमाए ।
६१ औं औं मिनेटमा पेनाल्टी बक्स नजिकै हेन्जनलाई चर्चब्वाइजका सन्तोष खत्रीले लडाउन पुगेका थिए ।
लगत्तै उनलाई मुख्य रेफ्री प्रज्वल क्षत्रीले पहेंलो कार्ड दिँदै आर्मीलाई फ्रिकिकको मौका दिए । त्यही मौका हेन्जनले गुमाएनन् ।
उनले प्रहार गरेको ग्राउन्ड सट चर्च ब्वाइजका गोल रक्षक सन्तोष महतले रोक्ने कुनै अवसर पाएनन् ।
तर, अन्तिम समयमा चर्चले गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो ।
खेलको ८५ औं मिनेटमा चर्चब्वाइजका समीर तामाङले गोल गरे ।
उनको गोलसँगै नतिजा बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा धकेलियो । खेललाई बराबरीमा ल्याएपछि चर्चब्वाइज आक्रामक बनेको थियो ।
अतिरिक्त समय (९९ औं मिनेट)मा आर्मीका रशबहादुर मगरले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए ।
आर्मीले अग्रता लिएको केही समयपछि चर्च ब्वाइजले खेलाडी परिवर्तन गर्न लागेको थियो ।
मैदानभित्र रहेका सन्तोष खत्रीको ठाउँमा लाइनअपमै नभएका कृपाकान्त चौधरीलाई मैदान पठाएको थियो ।
भित्र छिरिसकेका चौधरीको लाइनअपमै नाम नभएको सहायक रेफ्रीले जनाउ दिएपछि मुख्य रेफ्री प्रज्वल क्षेत्रीले उनलाई बाहिर पठाए ।
उनीसँगै सन्तोष खत्री पनि बाहिर आइसकेका थिए । केहीबेर १० जनामात्रै खेल खेलेपछि बल्ल लाइनअपमा भएका मनिष जर्घामगर मैदान प्रवेश गरे ।
त्रिभुवन आर्मी र थ्रीस्टार ५ वर्षपछि सँगै फाइनल पुगेका हुन् । शनिबार हुने उपाधि प्रतिस्पर्धामा भिड्न लागेका आर्मी र थ्रीस्टार पछिल्लो पटक २०७५ मा सँगै फाइनल पुगेका थिए ।
त्यतिबेला निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा थ्रीस्टारले बाजी मारेको थियो ।
थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी क्लब उपाधिविहीन छ । यो पटक आर्मी पाँचौं पटक फाइनलयात्रा तय गरेको हो ।
प्रकाशित मिति २०८० माघ १८ गते बिहीबार ०६:१२




